बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने

मंगलबार, चैत्र २० २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मत लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।

त्यसअघि नेकपा एमाले, माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धनसँगै कांग्रेस संसदीयदलका नेता चौधरी मुख्यमन्त्री बनेका हुन् ।

फेरि केन्द्रीय राजनीतिमा आएको फेरबदलकाकारण एमाले–माओवादीसहितको सरकार बन्ने अवस्था देखिएको छ । अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन विभिन्न लबिङ गरिरहेका छन् ।

यता, एमाले–माओवादी दलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने र आफूहरू सहभागी सरकार बनाउने तयारी थालेका छन्।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन्। बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन्।

एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् ।
सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ । जसका लागि नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्ये कुनै एक दलको साथ चाहिन्छ ।

लुम्बिनीमा नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिन्छन्।