बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कारवाही र आन्तरिक विवादका बीच नागरिक उन्मुक्ति पार्टीले बाेलायाे केन्द्रीय समिति बैठक

मंगलबार, चैत्र २० २०८०

काठमाडौं । पार्टी भित्रको विवादका बीच नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।

पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।

बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो ।

सो पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेकै बेला बैठक बोलाइएको हो ।

संरक्षक चौधरीले केन्द्रीय समिति बैठकले गर्ने निर्णयका आधारमा पार्टी अघि बढ्ने बताए ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे सोमबार पत्रकारहरूसँग कुरा गर्दै संरक्षक चौधरीले आउँदो केन्द्रिय बैठकले छानिछानी कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा आज जारी पत्रमा उल्लेख छ ।