कर्णाली । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीको पद पाउने भऐका छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो ।
सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए ।
उनले भने, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसकेका छन्।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।
केन्द्रमा गठवन्धन बदलिएसँगै गत २२ फागुनमा नेपाली कांग्रेसले शर्माको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप महिना दिन पुग्न लाग्दा शर्माले विश्वासको मत लिन लागेको जानकारी संसदलाई गराएका थिए ।