बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नाउपाकाे संस्थापक केन्द्रीय सदस्यहरुको बैठक बस्दै, सरकारमा सहभागीबारे छलफल गर्ने

बुधबार, चैत्र १४ २०८०

कैलाली । आज कैलालीको टिकापुरमा बस्ने नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले सरकारमा सहभागीबारे छलफल गर्ने भएको छ ।

बिहान ९ बजे टिकापुरस्थित पार्टी कार्यालय संस्थापक केन्द्रीय सदस्यहरुको बैठक बस्दै छ ।

दिउँसो २ बजे प्रतिनिधि सभा सदस्य, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सांसदहरुसंग पनि बैठक बस्ने जनाइएको छ ।

केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपा प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सारकारमा सहभागी छ ।

आज नयाँ नेतृत्वको गठबन्धनमा सहभागी हुने वा कांग्रेसलाई नै साथ दिने भन्ने विषयमा छलफल हुने नाउपा केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् । पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्षको जिम्मेवारीमा रन्जिता नै दोहोरिएकी छन् । चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएपछि रेशम र रञ्जिताबीच पारिवारीक विवाद झन चुलिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाहबिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमान् समेत रहेका नाउपा संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन् ।

सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ ।

रेशम अहिलेकै सरकारलाई समर्थन गरेर अघि बढ्नु पर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ नयाँ गठबन्धनमा सहभागी हुनु पर्ने अडानमा छिन् ।