`
सरकारी खर्चको बृद्धिदर घटेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १३ प्रतिशतले बढेकोमा चालु आवको पहिलो सात महिनामा सरकारी खर्च दुई दशमलव नौं प्रतिशतले मात्र बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा सरकारको कुल खर्च छ खर्ब ८६ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ ।
सरकारले पछिल्लो अवधिमा गरेको कुल खर्च मध्ये चालु खर्च पाँच खर्ब नौं अर्ब चार करोड, पँुजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब १४ अर्ब १३ करोड रहेको छ ।समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) पाँच खर्ब ६७ अर्ब ४० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १६ दशमलव एक प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १० दशमलव दुई प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर राजस्व ५६ अर्ब ९१ करोड परिचालन भएको छ ।
महालेखाका अनुसार चालु आवको पछिल्लो सात महिनामा सरकारका बिभिन्न खाताहरुमा दुई खर्ब १५ अर्ब २६ करोड रुपैंयाँ नगद मौज्दात रहेको छ ।
यो मौज्दातमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समाबेश रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रहेको थियो । यसैगरी चालु आवको सात महिनामा प्रदेश सरकारहरुको कुल खर्च ५१ अर्ब ७४ करोड र स्रोत परिचालन एक खर्ब एक अर्ब २९ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ६३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६६ करोड रहेको छ । चालु आवको सात महिनामा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय चार दशमलव छ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३ दशमलव सात प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा÷नोक्सान समायोजित) दुई खर्ब ९७ अर्ब ७२ करोड अर्थात २० दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब २८ अर्ब ५५ करोड अर्थात ११ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा एक दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा दुई प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा सञ्चित मुद्रा १४ प्रतिशतले बढेको छ
।
यसैगरी चालु आवको सात महिनामा कुल आन्तरिक कर्जा तीन दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा तीन दशमलव नौं प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा आठ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी सात दशमलव तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी चार दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २० दशमलव छ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी पाँच दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी चार दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी पाँच दशमलव चार प्रतिशतले बढेको महालेखाको भनाई छ