काठमाडौं । सत्ता राजनीतिबाट हुत्तिएको नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने पहल थालेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेताहरू यसमा सक्रिय छन् । भलै उनीहरुले प्रमुख प्रतिपक्षीको जिम्मेवारीमा सशत्त रुपमा रहने बताइरहे पनि वितेका दुई दिनलाई नियाल्ने हो भने कांग्रेस वैकल्पिक गठबन्धन गरेर प्रचण्ड सरकार ढाल्ने दाउमा छ ।
कांग्रेसले वितेका दुई दिनमा तीन जनालाई प्रधानमन्त्रीको अफर गरिसकेको छ । प्रचण्डले गठबन्धन तोड्दै एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि त्यसलाई रोक्न कांग्रेसले सुरुमा रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको थियो । कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बताएकाे थियाे । तर, रास्वपाले आफू मात्रैले बहुमत नपुग्ने र केही साना दलको विश्वास नहुने भन्दै पन्छिएका कारण त्यो छलफलले निरन्तरता पाउन नसकेको बताएको छ ।
यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि नबढाएपछि कांग्रेस दाेश्राे ठूलाे शक्ति एमाले तिर पनि लम्किएकाे थियाे ।
गत राति कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा भएको छ । त्यतिमात्र होइन कांग्रेसले राष्ट्रिय सभाको भावी अध्यक्ष पनि एमालेलाई दिने गरी नै गठबन्धन अघि बढाएर जानसकिने प्रस्ताव गरेको थियो । यसअघि एमाले–माओवादीसहितको नयाँ समीकरण बन्ने निश्चित भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यरातमा एमाले अध्यक्ष ओली भेट्न दूत समेत पठाएका थिए ।
एमालेबाट पनि गतिलो जवाफ नपाएपछि कांग्रेस यतिबेला एकीकृत समाजवादी तिर लम्किएको छ । यसै शिलशिलामा नेकपा एसको बैठकअघि सभापति शेरबहादुर देउवा माधव नेपालकाे निवास कोटेश्वर पुगेका छन् । स्रोतका अनुसार बरु नेपाललाई केही समयका लागि प्रधानमन्त्री बनाएरै जान सकिने भन्ने पक्षमा देउवा पुगेका छन् । नयाँ गठबन्धन निर्माणमा माधव नेपाल प्रचण्डसँग विच्किएको थाहा पाएपछि देउवा कोटेश्वर पुगेका हुन् ।
उनी श्रीमती आरजु र नेता रमेश लेखकसहित कोटेश्वर पुगेका हुन् । आफू गठबन्धन जोगाउन हदैसम्म लचिलो बन्दा पनि प्रचण्डले विनाकारण धोका दिएको भन्दै देउवाले हिजो पदाधिकारी बैठकमा पनि गुनासो पोखेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादी, लोसपालाई प्रचण्डको साथमा जान नदिन सभापति शेरवहादुर देउवा आफैं सक्रिय भएका छन् ।
यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । त्यसमा चित्रबहादुर केसीको पनि साथ पाए १२६ सीट हुन्छ ।
भूराजनीतिक शक्तिहरू समेत नेपालको मामिलामा प्रत्यक्ष संलग्न भइरहँदा कांग्रेस बैकल्पिक गठबन्धनको प्रयासमा जुटेको हो । देउवा उपेन्द्र यादव र माधव नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्नसक्ने भन्दै दौडधुपमा रहेका हुन् ।