काठमाडौं । प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको आरोप लगाए।
प्रमुख सचेतक गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत गरे ।
उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानविनमा रहनुभएका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किरातीले तत्काल राजीनामा दिन आवश्यक रहेको जिकिर गरे।
एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको टिप्पणी गर्दै प्रमुख सचेतक गिरीले भने, ‘हामी गत ६ गतेदेखि संसद्मा बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्न आदेश दिने गृहमन्त्रीको विरुद्धमा आवाज उठाइरहेका छौँ । अख्तियारको छानविनमा रहेका स्वास्थ्यमन्त्री मन्त्री पदमा बस्न मिल्दैन, उहाँको राजीनामा मागिरहेका छौँ । रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौँ । हामीले संसद्मा हप्तौँ दिनदेखि कुरा उठाउँदा सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनु भएको छ । यो अत्यन्तै दुःख र चिन्ताको कुरा हो ।’
यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा अध्यक्ष ओलीले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताए । एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मन्त्री मोहनबहादुर बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।
समाजवादी मोर्चामा सहभागी हुन बोलाइएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले सो मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए।
यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको सुशासनको नारा कार्यान्वयन नभएको टिप्पणी गरे । बहालवाला मन्त्रीहरू माथि नै कैयौँ आरोप रहेको र सरकारले सुशासन कायम गर्न नसकेको टिप्पणी गर्दै सांसद सिंहले भन्नुभयो, ‘सरकारका मन्त्री अख्तियारमा झण्डा हल्लाएर बयान दिन जान्छन् सरकार हामी सुशासनमा छौँ भन्छ । मन्त्री नै बयान दिन जान्छन् भने कस्तो सुशासन हो ?’
यसैगरी रास्वपा की सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन् । सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने जिकिर गर्दै सांसद गौतमले भनिन्, ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहिँ कसलाई ?’
प्रमुख प्रतिपक्षी दल एमाले लगायत प्रतिपक्ष दलले सरकारको कामकारवाही मागिरहेका बेला प्रधानमन्त्रीदेखि सरकारका जिम्मेवारी मन्त्रि भने संसदमै उपस्थित हुन सकिरहेका छैनन् ।
प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ ।
गत शुक्रबार सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए । त्यसको जवाफ आइतबार राप्रपा संसद शाहीले कवितामार्फत दिए ।
शाहीले संविधानको व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनमा माग्न नपाउने बताए ।
विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न नपाइने उल्लेख गर्दै उनले भने, ‘अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो ।’
संविधानको धारा १०३ ले कुनै पनि सांसदलाई बोलेकै आधारमा राजीनामा माग्न नपाउने विशेषाधिकार दिएकोसांसद शाहीले बताए । अहिलेको व्यवस्थाको विरोधमा बोल्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ ले नरोकेको पनि शाहीले सांसद सापकोटालाई जवाफ दिए ।
प्रतिपक्ष मात्र होइन सत्तारूढ दल नेपाली कांग्रेसकै सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् ।
मन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले निरन्तर घेरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले पनि सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले सरकारको कामकारबाहीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री सुदन किरातीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको दाबी गरेका छन् । साथै मन्त्री किरातीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको टिप्पणी गर्दै सांसद खतिवडाले भने, ‘ती कर्मचारीलाई हाजिर गरेर कहाँ जाने, कहाँ आउने, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने गरेर नियुक्तिको व्यवस्था गरिएको छ ।
पछिल्ला केही दिनयता संसदमा सत्तारुढ दलहरुबीच नै असहज परिस्थिति देखिएको छ । उनीहरु नै सरकारको पक्ष–विपक्षमा खुल्न थालेका छन् । आइतबारको संसद बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाही बोलिरहेका बेला माओवादीका प्रमुख सचेतकले नियामापत्ति जनाएका बेलामा सत्तारुढ दलकै सांसद सुनिल शर्माले त्यसको विरोध गरेका थिए ।
सुनिल शर्माले सरकारले एक वर्षमा गर्न सक्ने काम पनि नगरेको बताए । उनको प्रश्न छ, ‘…सुकुम्बासीहरुका समस्या, द्वैध स्वामित्वको समस्या आजसम्म किन निराकरण भएन ? कहिलेसम्ममा हुने हो ? यो सरकारको पालामा, हाम्रो कार्यकालमा हामीले देख्न पाउने हो वा अर्को चुनाव पर्खिनुपर्ने हो ?’
कांग्रेस सांसद सञ्जयकुमार गौतमले सरकार भएको अनुभूति गर्न नसकेको बताए । ‘आफ्नै गठबन्धनको सरकार छ । सरकार भएको अनुभूति गर्न सकेका छैनौं’, विशेष समय लिएर बोलेका गौतमले भने, ‘जताततै निराशा छ । यो देश सिण्डिकेटले चलेको छ भन्ने आम भाष्य छ । मलाई पनि त्यस्तै त्यस्तै लाग्छ ।’