काठमाडौं – तारा गाउँ विकास समितिले पर्यटन विकास तथा प्रवद्र्धन गर्न २०२६ सालमा चुच्चेपाटी, टुसाल र बौद्धका स्थानीय जनताको ३ सय ८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । प्रति रोपनी जग्गाको १५ हजार रूपैयाँ मुअब्जा दिएर प्राप्त गरेको जग्गा सो प्रयोजनमा उपयोग नगरी सरकारले भारतीय निजी कम्पनी ह्यात रिजेन्सी होटललाई १ सय ५० रोपनी जग्गा अति सस्तो दरमा भाडा दिएको थियो ।
यही कारण यतिखेर यी क्षेत्रका दुई सय पूर्व जग्गा धनीहरू आन्दोलित भएका छन । उनीहरूले २०२६ सालमा अधिग्रहण गरेको जग्गा तारा गाउँ विकास समितिले पर्यटन प्रवद्र्धनमा उपयोग नगर्ने भए स्थानीय भूमिपुत्र, आदिवासी जनजाति समुदायलाई नै फिर्ता दिन माग गरेका छन् । पीडितहरुले २०८० फागुन २ गते शान्तिपूर्ण आन्दोलन गर्दै जग्ग फिर्ताको माग गरेका हुन् । स्थानीय योङ इन्डजिनिष्ट लिग, तामाङ राष्ट्रिय बाहिनी र नेवाः राष्ट्रिय बाहिनीले आन्दोलन गरी सरकारले ऐन विपरीत अधिग्रहण गरेको जग्गा फिर्ताको माग गरेका छन् ।
अधिग्रहण गरिएको ३ सय ९० रोपनी जग्गा मध्ये हाल २ सय ४० रोपनी जग्गा होटल र समितिले ओगटेको बताइन्छ । करिब १ सय ५० रोपनी जग्गा भारतीय नागरिक राधेश्याम सरार्फ(स्व.) नेतृत्वको ह्यात रिजेन्सी होटलले अति सस्तो मूल्यमा उपयोग गरी भारतीय निजी कम्पनीलाई पोस्ने काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वले गरिरहेकोमा पीडितहरुले आपत्ति जनाएका छन ।
संघीय संसद, अर्थ, लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्ने आन्दोलनरत समुहले माग गरेका छन । तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा हायात रिजेन्सी होटलको नाममा नामसारी भएको सम्बन्धमा अख्तियार र सिआईबीले अनुसन्धान यस अघि नै बढाइसकेको स्रोतले जानकारी दिएको छ । साँघु साप्ताहिकबाट