मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रसूति गृह शिशु चोरी प्रकरण : विवाह गरेको लामो समयसम्म सन्तान नभएपछि चोरी !

शनिबार, फाल्गुन १२ २०८०

काठमाडौं । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको तथ्य खुलेको छ । शुक्रबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट २६ दिने शिशु चोरी भएको थियो ।

प्रहरीले चोरी भएको नवजात शिशु काँडाघारीमा फेला पारेर अभिभावकलाई जिम्मा लगाइसकेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

शिशु चोरीको आरोपमा दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनिषा भनिने कीमन कुमारी सिंह, उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, उनको दिदी शारदा शाही काँडाघारीस्थित डेराबाट पक्राउ परेका छन् ।

विवाह गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको खुलेको छ । सुरुमा त उनले बाटोमा आफैँले शिशु जन्माएर ल्याएको दाबी गरेकी थिइन् । प्रहरी पुग्दा आफू भर्खरै सुत्केरी भएकाे र आफ्नै बच्चा भएको दाबी गरेकी थिइन् । पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानमा महिलाले विहे गरेको लामो समयसम्म पनि बच्चा नभएकाले सन्तानका रुपमा हुर्काउन बच्चा लिएर आएको बताएकी छन् ।

उनका श्रीमान नेपाली सेनामा कार्यरत छन् । उनको कोठामा प्रहरी पुग्दा उनी सुत्केरीजस्तै गाउन लगाएर बच्चाको स्याहार गरेर बसेकी थिइन् ।

शुक्रबार काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्डभित्रबाट काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका३ घर भई हाल कपन बस्ने २२ वर्षीयासबिना श्रेष्ठको २६ दिनको आफ्नो छोरीलाई एक अपरिचित महिलाले मागेर बोकेको थिइन् ।

बच्चालाई लिई फरार भएकी थिइन् । उनीसहितका तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

सो बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारको लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको प्रहरीले जनाएको छ ।