काठमाडौं । नेपालको पछिल्लो राजनीति धर्मसँग जोडिन थालेको छ । सत्तामा रहेका मन्त्री र कर्मचारीहरुले नै धर्मको आडमा राजनीति गर्न थालेपछि समाजमा विस्तारै सनातन धर्ममाथिको चासो र चिन्ता बढ्न थालेको हो । संस्कृति मन्त्री नै निश्चित धर्मको पक्षमा वकालत गर्ने अनि समाजलाई दिग्भ्रमित पार्ने कार्यमा संलग्न हुन थालेका छन् । त्यसले सनातन धर्मका पक्षपातीहरु चिन्तामा परेका हुन् । त्यसैले, अहिलेमा सामाजिक रुपमा बढ्दै गएको प्रभावलाई राजनीतिक दलहरुले पनि चिन्ताको रुपमा लिन थालेका छन् । त्यसको गतिलो प्रभाव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देखाईसकेको छ ।
सनातन धर्मको पक्षमा माहोल सिर्जना गर्ने प्रयासमा रहेको र यसैका बलमा राप्रपाले केही मत पनि पाइरहेको छ । त्यसबाहेक अन्य ठूला दलहरु र मानिसहरु पनि सनातन धर्मलाई मास्न खोजिएको भनेर ठुलो चिन्तामा रहेका छन् । त्यसकारणले गर्दा अहिले त्यो लहर औपचारिक रुपमा कांग्रेसमा प्रवेश गरेको छ ।
हिन्दु धर्मको पक्षमा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका छन् । त्यसकै बलमा २०८० फागुन गतेबाट सुरु हुने महासमिति बैठकमा उनीहरुले यो मुद्दालाई प्रखर रुपमा उठाउने प्रयास गर्नेछन् । यही समूह पहिला पनि सक्रिय थियो । तर, अहिले जति बलियो रुपमा अगाडि बढेको छ, पहिला त्यति बलियो भने थिएन। अघिल्लो महासमिति बैठकमा १५ सय प्रतिनिधिमध्ये झन्डै आधा (७ सय ३४) सदस्यले हिन्दु धर्मको पक्षमा एजेण्डा उठाउने गरी प्रस्ताव गरेका थिए । यद्यपि, त्यो प्रस्ताव अघि भने बढ्न पाएन तर कांग्रेसभित्र हिन्दु राष्ट्र र धर्मको पक्षमा माहोल बनाउने काम भने गरेको थियो । त्यही काम अहिलेको महासमिति बैठकले गर्दैछ ।
कांग्रेस वैचारिक रुपमा पनि पुरातनवादी पार्टी भने हो । त्यसैले, हिन्दु धर्मको पक्षमा उभिनुपर्छ भन्ने ठूलो मत पार्टीभित्र रहेको दावी गरिन्छ । तर, नेतृत्वले हिन्दु धर्मको पक्षमा निर्णय नलिएकै कारणले गर्दा अलमल भएको मात्रै हो । कांग्रेसका कतिपय नेताहरुको भनाइमा पनि कांग्रेसमा ९० प्रतिशत मानिस हिन्दु धर्मकै पक्षमा रहेका छन् । तर, नेतृत्व चाहिँ उक्त मुद्दाको विपक्षमा रहेका कारणले मात्रै समस्या भएको हो । त्यसो त, पछिल्ला दिनमा सभापति शेरबहादुर देउवा पनि उक्त एजेण्डामा छलफल गर्न सकिने बताइरहेका छन् । नवलपुरको जिल्ला अधिवेशनमा पुगेका सभापति देउवाले गणतन्त्रबाहेक सबैविषयमा छलफल गर्न सकिने बताएका थिए ।
त्यसरी बताउने क्रममा हिन्दु धर्मको विषयमा पुनर्विचार गर्न सकिने बताएका थिए । पूर्वमहामन्त्री शशांक कोइराला हिन्दु धर्मको पक्षमा निरन्तर उभिने गरेका छन् । उनकै निर्वाचन क्षेत्रमा भएको जिल्ला अधिवेशनको क्रममा सभापति देउवाले यो कुरा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसो त, सभापति निकटकै नेताहरु भनिएका शंकर भण्डारीको समूह पनि हिन्दुधर्मको पक्षमा सशक्त ढंगले उभिएका छ र पार्टीभित्र अहिले भण्डारीकै नेतृत्वमा एजेण्डा प्रस्तुत भइरहेको छ । त्यसैले, नेपालको सन्दर्भमा कांग्रेस अब राजनीतिक धार कसरी निर्माण गर्ने भन्ने चौबाटोमा उभिएको छ । पार्टीभित्र बढ्दो निराशा र त्यसले सिर्जना गरेको बेमेलका कारण ठूलो पंक्ति पार्टी छोड्ने पक्षमा रहेको छ ।
त्यसको प्रत्यक्ष असर आउँदो २०८४ को चुनावमा पर्नेछ । कांग्रेसको मत विकल्पको रुपमा अर्को दल वा समूहमा बाँडियो भने कांग्रेस निकै कमजोर हुने अवस्था रहेको छ । त्यसलाई मध्यनजर गरेर कांग्रेस अहिले हिन्दु धर्मको एजेण्डालाई साथ लिने अवस्थातिर जाँदैछ । त्यसो त, एमाले पनि पछिल्ला दिनमा हिन्दु धर्मलाई नजिक मानेर अध्यक्ष केपी ओलीले विभिन्न सन्देश दिने प्रयास गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि गेरुवस्त्र लगाईसकेका छन् । त्यसकारणले, कांग्रेसभित्र दबाब र आत्मबल दुवै बढेको छ ।
हिन्दु राष्ट्रको प्रस्ताव निस्तेज पार्न सक्रिय समूह
कांग्रेसको अर्को पक्ष भने हिन्दु राष्ट्रको एजेण्डालाई रोक्ने पक्षमा रहेको छ । त्यसमा शेखर कोइरालाको समूह सक्रिय रहेको बताइन्छ । कोइरालालाई साथ दिनेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामात्र होइन, सांसद प्रदीप पौडेलसहितको टीम रहेको स्रोत बताउछ । शेखर कोइरालाको टीम हिन्दु धर्मको एजेण्डालाई निस्तेज पारेर पार्टीमा औपचारिक रुपमा प्रवेश हुन नदिने लाइनमा रहेको स्रोत बताउछ । हिन्दु राष्ट्रको एजेण्डालाई रोक्ने पक्षमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरुले निहुँ खोजे भने महासमितिको बैठकमा भिडन्त हुन सक्ने चर्चा समेत चलेको छ । शेर वहादुर देउवा र आरजु राणाहरुको टोली हिन्दु राष्ट्र र धर्मको पक्षमा उभिनुकारण चाहिँ भारतलाई खुसी पार्नेसँग जोडिएको छ ।
पछिल्ला दिनमा भारतीय प्रभाव पनि हिन्दुधर्म विस्तारमा सहयोगी देखिएको छ । त्यसले गर्दा मुख्यगरी तराईमा निकै प्रभाव दिएको छ । त्यसो, राजनीतिक वृत्तमा कांग्रेसले हिन्दु राष्ट्रको एजेण्डा अगाडि सार्दा एमालेले साथ दिने र माओवादी मौन बस्ने स्थितिमा रहेकोसम्म भन्न थालिएको छ । हुन पनि, पछिल्ला दिनमा प्रचण्डमा देखिएको हिन्दुधर्मको पक्षपातीधारले त्यही संकेत गर्न खोजेको छ । साँघु साप्ताहिकबाट