काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानविन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानविन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए। उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए ।
उनले भने – ‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु । आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए ।
उनले भने, ‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो । रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको छ ।’