बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

आइतबार, फाल्गुन ६ २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत लिने तयारी गरेका छन् ।

मधेश सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज (आइतबार) तेस्रोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । जनमतबाट मन्त्री हुनुभएका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारबाट बाहिरिएका थिए । सरकारबाट पार्टीको बहिर्गमनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात् फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । सोहीअनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराइसकेको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जानकारी आएको पनि सचिवालयले जनाएको छ ।

२०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आहृवान गरी विश्वासको मत लिनसक्ने प्रावधान छ ।

मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको एमालेको २३ सिट, नेपाली कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल संघीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एकसिट र तीन स्वतन्त्र रहेका छन् ।