सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रेस चौतारीले गर्‍यो उद्योग व्यवसाय महासंघका अध्यक्ष साँवालाई सम्मान

बिहिबार, पुष २६ २०८०

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुलाई सम्मान गरेको छ ।

जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै चौतारीले साँवालाई सम्मान गरेको हो ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासंघका अध्यक्ष साँवालाई खादा लगाएर सम्मानित गरे ।

एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको बैठकमा एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा महासंघले प्रेस चौतारी नेपाललाई सहयोग गरेबापत सम्मान गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको संकल्प यात्राका लागि उद्योग व्यवसाय महासंघले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो ।

महासंघले गरेको सो सहयोगबापत चौतारीले सम्मान गरेको हो । सो अवसरमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सबै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागिता रहेको थियो ।

यस्तै उद्योग व्यवसाय महासंघका अध्यक्ष साँवाले प्रेस चौतारीले प्रचारको काममा प्रशंसायोग्य काम गरेको कारण आफूहरूले चौतारीको आग्रहअनुसार सहयोग गरेको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

एमालेको संकल्प यात्रामा प्रेस चौतारी नेपालले प्रचारको कामको संयोजन गरेको थियो ।