सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राष्ट्रियसभा उम्मेदवारमा कांग्रेसबाट कृष्ण सिटौलादेखि जितजंग बस्नेतसम्म, गगन थापाको फरक मत

सोमबार, पुष २३ २०८०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभासदस्य निर्वाचनका लागिउम्मेदवारको नाम टुंग्याएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जनाको नाम टुंग्याएको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, बागमतीमा बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ ।

त्यस्तै गण्डकीमा पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ, लुम्बिनीमा बिष्णुदेवी सापकोटा, कर्णालीमा कृष्ण रोकाया र सुदुरपश्चिममा नारायण दत्त भटट र बलदेव बोहरालाई कांग्रेसले उम्मेदवार तोकेको छ । परियार, श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षका हुन् ।

आइतबार दिउँसोदेखि बसेको कांग्रेस बैठकले मध्यरातमा उम्मेदवारको टुंगो लगाएको हो । पार्टी निर्णयमा महामन्त्री गगन थापाले भने लिखितरुपमा फरक मत राखेका छन्।

उनले राखेकाे फरक मत यस्ताे छ । 

१.हाम्रो संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म बसेको वैठकले राष्ट्रियसभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अत: आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ ।