काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा झण्डै ७ महिना लामो कारागार बसाइपछि बालकृष्ण खाँण कांग्रेस केन्द्रीय समिति बैठकमा उपस्थित भएका छन् ।
सो प्रकरणमा धरौटीमा रिहा भएपछि पहिलो पटक आज पार्टी मुख्यालय सानेपा पुगेका हुन् । खाँण विहिबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगेका छन्।
शरणार्थी प्रकरणमा अनुसन्धानका लागि वैशाख २९ गते खाँण पक्राउ परेका थिए ।
जिल्ला अदालतबाट असार १ गते पुर्पक्षका लागि थुनामा गएका खाँण मंसिर २९ गते उच्च अदालत पाटनको आदेशले थुनामुक्त भएका थिए ।
पूर्व गृहमन्त्री समेत रहेका खाँण कांग्रेसका प्रभावशाली नेता मानिन्छन् ।
कांग्रेसले विहिबारदेखि केन्द्रीय समिति बैठक आफू सहभागी सरकारको काम र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकवर्षे समीक्षा गरेसँगै कांग्रेसले पनि आफू सहभागी सरकार र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गरिरहेको हो।
बैठकमा मन्त्री फेरबदल हुने–नहुने विषयमाथि समेत छलफल भईरहेको छ ।