काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको आलोचना भएको छ ।
बैठकमा नेताहरूले धारणा राख्ने क्रममा सरकारमा गएका मन्त्रीहरूले पार्टीको शिर ठाडो हुने काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
बैठकमा मन्त्रीहरूको कार्यसम्पादनको विषयमा नेताहरूले प्रश्न उठाएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकार र कांग्रेसबाट मन्त्री बनेकाहरुको कार्यसम्पादनलाई लिएर असन्तुष्टि पोखिएको थियो । सुशासनको विषयमा पार्टी गम्भीर ढंगले जानुपर्छ भन्ने नेताहरूको धारणा रहेको जानकारी दिँदै केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘हरेक दिनजसो नयाँ-नयाँ घटना आइरहेका छन् । पुस १६ देखि माघ १६ गतेसम्म समुदायमा कांग्रेस अभियान जाँदै छ । यो अभियान भ्रष्टाचार र सुशासनको विषयमा पार्टीले यो गर्छ भनेर दस्तावेज बनाएर जानुपर्छ भन्ने साथीहरूको धारणा छ ।’
मन्त्री हेरफेरमा कांग्रेस बाधक नबन्ने
यसैबीच कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताउनुभएको छ । उहाँले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भरपर्ने स्मरण गराएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले भने, ‘मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर, यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो । अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा कांग्रेस बाधक बन्दैन ।’
साथै केन्द्रिय समिति बैठकमा कांग्रेसका नेताहरूले चुनाव हारेकालाई आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार नबनाउन नेतृत्वलाई तीव्र दबाब दिएका छन् ।
केन्द्रीय समिति बैठकको पहिलो दिन बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पटक/पटक अवसर पाएका र गत निर्वाचनमा पराजितलाई उम्मेदवार नबनाउन पार्टी नेतृत्वलाई दबाब दिएका हुन् ।
बैठकमा बोल्ने नेताहरूले राष्ट्रियसभा सदस्यका उम्मेदवारको छनोट गर्दा पार्टीले पटक(पटक अवसर पाएकाहरूलाई भन्दा अन्यायमा परेकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका थिए ।
हिजोदेखि सुरू केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा जारी बैठक बिहान ११ बजेदेखि पुन: बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।