शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आर्जन बचत सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न,

आठ प्रतिशत लाभांश पारित, खराव कर्जा शुन्य

आइतबार, भाद्र ३१ २०८०

ललितपुर कुमारीपाटी स्थित सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष (आव) ०७९/८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष प्रविण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार गत आव ०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पुँजी तीन करोड उन्चालिस लाख सतसठ्ठी हजार नौ सय रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा १२ दशमलब १० प्रतिशतले संकुचन आई उन्तिस करोड त्रिपन्न लाख साठी हजार दुई सय बयासी रुपैयाँ बराबर पुगेको संस्थाका अध्यक्ष सुवेदीले बताए । सुवेदीका अनुसार गत आव ०७९/८० मा संस्थाले बाइस करोड छत्तिस लाख दुई हजार दुई सय चौबिस रुपैयाँ बराबर निक्षेप गर्न सफल भएको र सोही आवको अन्त्यसम्म तेइस करोड एक्काइस लाख सात हजार तीन सय रुपैयाँ कर्जा लगानी पुँजी पुगेको छ । गत आवमा संस्थाले सात करोड दश लाख चौरानब्बे हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको छ भने सोही अवधिमा तेह्र करोड दुई लाख सात हजार चार सय नब्बे रुपैयाँ कर्जा असुली गरेको छ ।

अध्यक्ष सुवेदीका अनुसार संस्थाले गत आवमा आयकर पछिको खुद नाफा ७६ लाख आठ हजार ६ सय ६४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखेर संस्थाले निक्षेप र नयाँ कर्जा प्रवाहलाई खुम्च्याउने रणनीति अख्तियार गर्दा खुद नाफामा अघिल्लो आवको तुलनामा २७ दशमलब ११ प्रतिशतले संकुचन आएको उनले बताए ।

संस्थाले चालु आवमा तीन करोड ५० लाख शेयर पुँजी पुर्याउने , २५ करोड निक्षेप पुर्याउने, २५ करोड कर्जा लगानी पुर्याउने, ब्याज आम्दानी ४ करोड पुर्याउने र खुद नाफा एक करोड १० लाख पु¥याउने अुनमान गरेको छ । गत आवमा संस्थाले आधारभूत प्रतिशेयर आम्दानी २२ दशमलब ४० रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । गत आवको असार मसान्तसम्म खराब कर्जा शुन्य रुपैयाँ बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरुमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरुबीचको निकटतामा कमि भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन् । अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।

त्यस्तै संस्थाका सञ्चालक समितिका उपाध्यक्ष समिर महर्जनले सभाको अन्त्य गर्दै सहकारी भन्ने वित्तिकै तर्सिने वातावरण सिर्जना भएको अवस्थामा आफूहरुले शेयर सदस्यहरुलाई विश्वासमा लिएर काम गर्न सफल भएको बताएका थिए । साधारणसभा कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य केशब भट्टराईले गरेका थिए भने सहभागीहरुलाई स्वागत मन्तव्य ऋण उपसमितिका संयोजक रुपक बाराहीले गरेका थिए ।

सभामा उत्कृष्ट बचतकर्ता र एसर्ईईमा उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरुका छोराछोरीलाई मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो । संस्थाले आफ्नै मोबाइल एप पनि सञ्चालनमा ल्याएकाले डिजिटल कारोबारलाई समेत अधिक प्रयोग गर्न सभामा बोल्ने वक्ताहरुले जो ड दिएका थिए ।