काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा महराका बाबुछोरामाथि पनि अनुसन्धान हुने भएको हो ।
विमानस्थलबाट भित्रिएको नौ किलो सुन तस्करी प्रकरणमा मुछिएका महराका बाबुछोरामाथि पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएको छ । भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको वकिल कार्यालय स्रोतले जनाएको छ ।
महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो । महराका छोरा राहुलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सिआइबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।
त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् । तर, उनीहरूमाथि अनुसन्धान नै नगरी सिआइबीले गत असार २७ गते प्रतिवेदन बुझाएको थियो । महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै अनुसन्धानमाथि नै प्रश्न उठेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
स्रोतका अनुसार केही दिनअघि तत्कालीन विमानस्थल भन्सार प्रमुख रहेका अर्थ मन्त्रालयका सहसचिव अरुण पोखरेलसँग सीआईबीले सोधपुछ गरेको छ । भेपमा लुकाएर ल्याएको सुन गोदामबाटै चोरिएपछि पोखरेलले नै सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न भनेका थिए ।
सीआईबीलाई अनुसन्धानको जिम्मा दिनु अगावै अर्कै समूहले कर्मचारीसँगको मिलेमतोमा सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुलेको थियो । त्यसको अनुसन्धान गर्दा मात्रै महरासँग सम्पर्कमा रहेको चिनियाँ गिरोह नै सुन तस्करीमा संलग्न रहेको खुलेको थियो ।
१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट ९भेप० ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याएको खुलेको थियो ।