शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सय किलो सुन प्रकरण : विवादास्पद व्यापारी राकेशकुमार अडुकिया र छोरा रोहनमाथि शंका

शुक्रबार, साउन १२ २०८०

काठमाडौं ।  काठमाडौंको सोह्र खुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ छापा मारेको छ ।

गोदाममा भएको ६६ कार्टुन ब्रेक शु पनि बरामद भएको छ । बरामद भएको ब्रेक सु मध्ये आधाभन्दा बढीबाट सुन निकालिएको अवस्थामा फेला परेको छ ।

सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया जोडिएपछि राजश्व अनुसन्धान विभागले बुधबार उनको कमलपोखरीस्थित घरमा छापा मारेको छ ।

सुन प्रकरणमा राकेशकुमार र उनका छोरा रोहनसमेतको संलग्नता रहेको शंका गरिएको छ । दुवै बाबुछोरा अहिले फरार रहेको अनुमान गरिएको छ ।

विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए। स्रोतका अनुसार हङकङको काउलिन सिटीमा उनको कार्यालय छ। उनी मात्र होइन, यसअघि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ।

गोरखा विकास बैंकको घोटालमा पनि मुछिएका राकेशकुमार २६ जुनमा नेपालबाट भारत–हङकङ–दुबई हुँदै जुलाई ५ मा नेपाल फर्केका थिए । उनी नेपाल फर्केलगत्तै सुन भित्रिन थालेको थियो ।

व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ।

सेयर कारोबारलगायत विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्‍याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । उनी केही बैंकरवित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् ।

रेडी ट्रेडले नै सुन भित्र्याउने क्रममा ती सामान ल्याएको आशंका गरिएको छ । क्विन्टल सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन् । भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ब्रेक सुकै आवरणमा असार २९ मा भित्रिएर विमानस्थल भन्सार जाँचपास भएको १ क्विन्टल सुन विभागले अघिल्लो मंगलबार सिनामंगल सडकबाट बरामद गरेको थियो ।