काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको वर्तमान गठबन्धन सरकारले जेठ १५ गते सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति चर्को आलोचना भइरहेको छ ।
बजेटप्रति सत्तारूढ गठबन्धनका केही घटकले नै तीव्र असन्तुष्टि जनाइरहेका छन् । सत्तारूढ दलकै कतिपय सांसदहरूले त संसद्को रोष्ट्रमबाटै बजेट संशोधन नभए यथास्थितिमा पारित हुन नदिने चेतावनीसमेत दिएका छन् । बजेटप्रति निजी क्षेत्रले पनि असन्तुष्टि जनाइरहेको छ । बजेटप्रति सत्तारूढ गठबन्धनभित्रैबाट पनि चर्को असन्तुष्टि प्रकट भइरहेको बेला राजनीतिक वृत्तमा बजेटप्रतिको असन्तुष्टिकै कारण सरकार नै ढल्ने त होइन ? भन्ने आशंका भइरहेको छ । अर्कोतर्फ, सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रसहित सत्तागठबन्धनमा रहेका जसपा र एकीकृत समाजवादीबीच समाजवादी मोर्चा गठन भएको छ ।
समाजवादी मोर्चा गठनको विषयलाई लिएर सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका कतिपय नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्ला दिनहरूमा सत्ता गठबन्धनभित्र अन्तरविरोध, असमझदारी र अविश्वास बढ्दो क्रममा छ । सत्ता गठबन्धनभित्रको अन्तरविरोध, समाजवादी मोर्चा गठन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सडक र सदनबाट निरन्तर सरकारमाथि बढाइरहेको दबाबले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुबारेको आशंकाले थप मलजल पाइरहेको छ ।
सरकारको आयुबारे विभिन्न टीकाटिप्पणी भइरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफूले चाहे सरकार एक हप्ताभित्र ढाल्ने चेतावनी दिएको छ । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको टिप्पणी गर्दै एमालेले चाहे एक हप्ताभित्रमा सरकार ढल्ने दाबी गरेका छन् । सरकार एमालेको प्रयत्नले नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने दाबी गर्दै सचेतक बर्तौलाले भने, ‘एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसद्मा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’ सचेतक बर्तौलाले सरकार ढल्ने डरले प्रचण्डले मोर्चा घोषणा गरेको दाबी गरे ।
सत्तारुढ दल नेपाली कांग्रेसका अधिकांश सांसदले बजेटप्रति विमति राख्दै आएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले बजेट कनिका छरे झैँ रहेको बताएका छन् । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने उनको भनाइ छ। अर्का कांग्रेस नेता अर्जुननरसिंह केसीले विकास बजेट नुवाकोट, डडेलधुरा र गोरखामा खन्याइएको भनिए पनि ती जिल्लाको समेत सबै ठाउँमा समान वितरण नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्न रोष्टममा उभिएर केसीले जिल्लाबासी अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन क्षेत्रको पनि निश्चित स्थानीय तहमा बजेटकेन्द्रित गरेको बताएका थिए ।
सत्तारुढ अर्को घटक नेकपा एकीकृत समाजवादीले समेत बजेट प्रति असन्तुष्टि देखाउँदै आएको छ । नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिँदै आएका छन् । गत आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने प्रष्ट्याए । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने उनको भनाइ थियो । ‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु ’, पाण्डेले भने ।
उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी समेत गरेका थिए ।
यता सरकारले भने बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएको छ । सरकारकी प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बुधवार मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै यस्तो बताएकी हुन् । उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतैपनि नलेखिएको बताएकी छन् । शर्माले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरु आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन् । साथै उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताइन् ।