बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एन आई सी एशिया बैंकद्वारा क्यु आर मर्चेन्ट एक्टीभेसन योजना सार्वजनिक

मंगलबार, जेष्ठ ३० २०८०

काठमाडौं – डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आपनो क्यु आर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यु आर मर्चेन्ट एक्टीभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पु¥याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुन सक्ने छन् । देशभर दुई लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको यस बैंकले क्यु आर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।

यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट दुई हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इण्डष्ट्रिजकोको तर्फबाट ५–पाँच हजार बराबरको एक सय वटा भौचर, हार्ड रकम क्याफेको तर्फबाट १० वटा नन भेज बार्बी क्यु को भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राईस कुकुर, ब्र्रेक फास्ट मेकर तथा ह्याण्ड ब्लेण्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्सर ग्रिण्डर, इण्डक्सन कुकर तथा ड्राई आईरनको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । साथै बैंकले ट्रयाङकुलिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट छ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ । यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार बैंकले राखेको फोन पे क्यु आर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यु आर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी दुई सय भन्दा माथिको भुक्तानी लिँदा कुल एक सय रुपैंयाँ क्यासब्याक प्राप्त हुने छ ।

बैंकको क्यु आर मर्चेन्ट बन्न चाहाने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइट भित्र एप्लाई नाउ आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरू मध्ये बि अ मर्चेन्टबाट अनलाईन आवेदन दिन सक्नेछन । मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । मुलुकभर बैंकले तीन सय ६० शाखा कार्यालयहरू, चार सय ७३ एटिएम, एक सय नौं वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।