काठमाडौं – अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने २५ वर्षीय सर्जने साउदको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित हात्तीकोटदेखि सेलगाउँतर्फ बिजुलीको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित पराजुलि ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँ बस्ने २८ वर्षीय पवन थारुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने रिया थारुको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहाको गोलबजार नगरपालिका–१३ सिमरा टोल बस्ने ५५ वर्षीय देवनाथ यादवको आफ्नै खेतमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । सप्तरीको महदेवा गाउँपालिका–६ ढिक्कली टोल बस्ने २५ वर्षीय जवाहर मण्डलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफनै घरको जस्ता छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।