बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सात पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्रीसँग अझै ६ मन्त्रालयको भारी

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । १० दलिय सत्तामा १० दलिय गठबन्धन बन्दा समेत मन्त्रिपरिषद् भने अझै अधुरै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

केही समय अघिसम्म १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले अहिले पनि ६ मन्त्रालयको भारी बोकेका छन् । उनले प्रधानमन्त्रीसँगै परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय आफैँसँग राखेका छन् ।
गत शुक्रबार मन्त्रिपरिषद् विस्तार भएको थियो तर, ६ मन्त्रालय अझै खाली छन् । गठबन्धन दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि कांग्रेसको भागमा परेका आधा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छन् । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको थियो । तर, कांग्रेसभित्रको कलहका कारण चारजनाले मात्र शपथ लिएका छन् । कोइराला समूहले तीन मन्त्रालयको माग गरेको थियो । तर, सभापति शेरबहादुर देउवाले कांग्रेसको भागमा परेका आठमध्ये दुई मन्त्रालय मात्र दिएपछि शेखर–गगन समूहले मन्त्री हुनेको नाम नै नपठाएको हो । तीन मन्त्रालय नपाएसम्म सरकारमै सहभागी नहुने शेखर समूहको अडान छ ।

गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) मा पनि विवाद देखिएको छ । दुई मन्त्रालय पाएको जसपाबाट अशोक राईले मात्र शपथ लिएका छन् । गठबन्धनमा सामेल आमजनता पार्टी पनि सरकारमा गएको छैन भने जनमत पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । गत १० पुसमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सय दिनमै दुईपटक विश्वासको मत र सातपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । तर, अझै पनि सरकार विस्तारको किचलो सकिएको छैन ।

‘प्रचण्ड’ नेपालको प्रधानमन्त्रीमा नियुक्त भएको १०० दिन पुगेको छ । यसबीचमा सरकारको सबैभन्दा महत्वपूर्ण भनेको ७ पटक मन्त्रिपरिषद् विस्तार र ३४ जना मन्त्रीलाई शपथ गराउनु बाहेक खासै उल्लेखनीय कुनै उपलब्धि देखिएको छैन । सरकार बनेकाे १०० दिनको यो अवधिमा ३४ मन्त्री नियुक्त  भएभने उपप्रधानसहित १७ मन्त्रीको राजीनामा स्वीकृत भइसकेको छ ।

दलहरु सरकारबाट बाहिरिने र मन्त्रीहरुले राजीनामा दिने शृङ्खला भने प्रचण्ड प्रधानमन्त्री बनेको ३१ दिनबाटै शुरु भएको थियो । १० पुसको सहमति बमोजिम गृह मन्त्रालय छोड्न प्रचण्ड तयार नभएको भन्दै २२ माघमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  ले सरकार छोडेको थियो । यसको तीन साता नबित्दै १० पुसको सम्झौता प्रचण्डले तोडेको भन्दै तत्कालीन सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले र अर्का सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाडेका थिए ।

कांग्रेससहित ६ दल समेटेर गत शुक्रबार गरिएको ११ नयाँ मन्त्रीको नियुक्तिले समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । हाल मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा अझै ६ मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने दाबी गरेका छन् । बुधबार माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने दाबी गरेका थिए ।