काठमाडौं । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।
यता वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठ्ने निश्चित जस्तै छ । यसअघिका प्रतिनिधि सभा सदस्य लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताएका छन् । उनले भने, ‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ। कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।’ उनको भनाइ रवि लामिछाने लक्षित थियो । साथै उनले सत्ता गठबन्धनबाट आफू साझा उम्मेदवार हुने समेत बताए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै अब चितवन २ को उपनिर्वाचनमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । यसअघि झिनो मतले तेस्रो स्थान हासिल गरेको प्रमुख प्रतिपक्ष दल एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्ने निश्चित गरेको छैन ।