बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रचण्ड र माधव नेपाल कम्युनिष्ट सिध्याउन लागेपनि कार्यकर्ता असल छन् : अध्यक्ष ओली

बिहिबार, चैत्र १६ २०७९

रुपन्देही । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट सिध्याउन प्रचण्ड र माधव नेपाल लागि परेको आरोप लगाएका छन् ।

बुधबार पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब भएपनि कार्यकर्ताहरु असल रहेकाले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने बताए ।

‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्, ओलीले भने, ‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको आरोप लगाए ।

यसैगरी अध्यक्ष ओलीले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउनुपर्ने निर्देशन समेत दिए ।

ओलीले अहिले जनताले भाषण, विचार सुन्न भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल ब्यवहार र आचरण देखाउन निर्देशन समेत दिए ।

मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल वहुमत ल्याउने उद्धेश्य रहेको उनले बताए ।
१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानीकारक भएको आरोप लगाउंदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने पनि दावी गरे ।

ओलीले स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको वहुमतको सरकार बनाउने अठोट र संकल्प सहित एकल वहुमत हासिल गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।