बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रचण्ड नेतृत्वको सरकारले आज पूर्णता पाउने

बिहिबार, चैत्र १६ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज पूर्णता पाउने सम्भावना छ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय भागवण्डामा मोटामोटी सहमति जुटेपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना रहेको छ ।

प्रधानमन्त्री दाहालले आजै साँझ नयाँ मन्त्रीहरूले शपथ खानेगरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

बुधबार बसेको बैठकको सहमति अनुसार नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ ।

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई–दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक–एक मन्त्रालय पाएका छन् ।

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।

सोही सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ ।

एकीकृत समाजवादीले हिजै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । उसले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । अरु दलहरूले आज मन्त्री बन्नेको नाम टुंगो लगाउने भएका छन् ।

सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।