काठमाडौं । मन्त्रालय भागबण्डामा सहमति जुटाउन बसेको सत्तारुढ दश दलीय गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल लगायत गठबन्धनमा आबद्ध दलहरुका शीर्ष नेता र प्रतिनिधि सहभागी छन् ।
भागबण्डाको सहमति नजुट्दा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यसअघि हिजो मंगलबार पनि मन्त्रालय भागबन्डाको सहमति जुटाउन गठबन्धनको बैठक बसेको थियो । तर सहमति नजुट्दा बैठक विना निष्कर्ष टुंगिएको थियो ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । उक्त मस्यौदामा आजको बैठकमा छलफल हुनेछ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने भनिएको थियो ।