काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् ।
आईतवार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उनले यस्तो बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए । उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे ।
नवनियुक्त आइजिपी कुँवरले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए ।
उनले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गरे ।
आइजिपि कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।