काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक वालकुमारीस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ ।
उपेन्द्रको योजनाले सार्थकता पाउँदै
सप्तरीबाट जनमत पार्टीका डा सिके राउतसँग प्रतिनिधि सभाको चुनाव हारेदेखि नै उपेन्द्र यादव संसद् फर्कने योजना बुनिरहेका थिए।
मधेश आन्दोलनपछि भएका चुनावमा उपेन्द्रले पहिलो पटक चुनाव हारेका थिए। मधेशको मुद्दा उढाएर केन्द्रमा सधैँ शक्ति हत्याउन र मन्त्रिमण्डलमा भागबण्डा पाउँदै गएका उपेन्द्रको यो हार मात्र थिएन मधेशमा उनी कमजोर बन्दै गएको प्रतित हुन थाल्यो ।
सत्ताको भागबण्डा हुँदा आफ्नो कुनै एक सांसदलाई अवसर दिने र रिक्त भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्दा आफूले चुनाव लड्ने उनको योजना थियो। सोही योजनामा उनी सफल भएका छन् ।
उनले बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता चयन गर्दै उपराष्ट्रपति समेत बनाए । अघिल्लो गठबन्धनमा साथ दिएका उपेन्द्रको पार्टीले उपराष्ट्रपतिमा भाग नपाउने निश्चित जस्तै बन्यो । तर, राष्ट्रपति उम्मेदवारको विषयले तत्कालीन सत्ता गठबन्धनमा भाँजो ल्याएपछि उनले उपयुक्त दोस्रो गठबन्धन रोजे । सो गठबन्धनमा अहिले ९ दल छन्।
चुनावको केही दिन अघिमात्र गठबन्धन छोडेर एमालेसँग मिल्न गएका उपेन्द्र पुन उपराष्ट्रपति आफ्नो पार्टीले पाउने लोभमा पुरानै गठबन्धनमा फर्किए । नभन्दै उनले रामसहायलाई उपराष्ट्रपति बनाइ छाडे र त्यही निर्वाचन क्षेत्रमा उनी उपचुनाव लड्ने योजनामा छन् ।
उपनिर्वाचन जितेका अवस्थामा उनी दलको नेता हुनेछन्। अहिले जसपाको प्रतिनिधि सभामा १२ सांसद छन्। यस्तै राष्ट्रिय सभामा ३ जना छन्।
मधेश प्रदेशमा उनकै दलले मुख्यमन्त्री पाएको छ।