काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।
प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।
राष्ट्रपति निर्वाचनका विषयमा सत्ता साझेदार दल भित्र अविश्वास पैदा भइरहेका बेला उनीहरुबीच दिनहुँजसो भेटवार्ता भइरहेको छ ।
नेपाली कांग्रेसले माओवादीलाई फकाउन विभिन्न निर्णय गर्दै आएको छ । आम निर्वाचन पछिका प्राय सबै निर्वाचनमा माओवादीका उम्मेदवारलाई कांग्रेसले मत दिँदै आएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।
संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।