काठमाडौं । चितवन २ बाट रास्वपाका सभापति समेत रहेका उम्मेदवार रवि लामिछानेसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले स्वतः विजयीको माग गरेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो भएका श्रेष्ठले स्वतः विजयीको माग गरेका हुन् ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए ।
लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आज निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।
गत मंसिर ४ को निर्वाचनमा श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । श्रेष्ठ निर्वाचनमा दोस्रो भएका थिए ।