बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेल चलान

शुक्रबार, माघ २० २०७९

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् । 

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । 

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद चौधरीलाई सुनियोजितरूपमा पक्राउ गरिएको आरोप लगाएकी छन् । 


पक्राउ परेका सांसद चौधरीसँगै काठमाडौंबाट धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएकी हुन् ।

सांसद चौधरीलाई २४ घण्टा भित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति मार्फत जनाएको छ ।