बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

बुधबार, माघ १८ २०७९

काठमाडौं  । प्रमुख सत्तासाझेदार दलबीच मतभेद बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति र गृहमन्त्रालयका विषयमा सत्ता साझेदार दुई दल एमाले र माओवादीबीच मतभेद रहेका बेला दुई नेताबीच सोही विषयलाई लिएर बालुवाटारमा भेटवार्ता भएको हो ।

सत्तारुढ दल भित्र नागरिकता विवादमा सर्वोच्चको फैसलासँगै रवि लामिछानेको सांसद पद गुमेपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराएका थिए ।

उनले नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताए । सोही दिन निवर्तमान गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालयले आफ्नो दल रास्वपाले पाउनु पर्ने भन्दै बिहान प्रचण्डलाई भेटे । प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नपाएका लामिछाने दिउँसो एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका थिए । भेटमा एमाले अध्यक्ष ओलीबाट उनले सकारात्मक जवाफ पाएको समाचार बाहिरिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिनुपर्ने दबाव दिंदै आएको छ । रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ ।
 
यसअघि आजै विहान राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो । 

साथै उनीहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ ।