मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

समृद्धिका लागि लगानी

मंगलबार, पुष १२ २०७९

 
केही वर्षयता नेपालको वैदेशिक व्यापार असन्तुलित रहेको पाइन्छ । आयात ह्वातै बढेको छ भने निर्यात घटेको छ । यसको अर्थ मुलुकको परनिर्भरता बढ्नु हो । धेरै वस्तुमा हाम्रो परनिर्भरता छ । यस अवस्थामा नेपालको आर्थिक भविष्य राम्रो छ भन्न सकिँदैन । हिजो राजनीतिक अस्थिरता र बेलाबखतको बन्द हड्तालको अलावा चन्दा आतंकले पनि व्यापारीहरू त्रसित थिए । सबैको सहयोग बिना मुलुकको विकास र समाज रुपान्तरण असम्भव भएकाले सबैपक्ष एकजुट भए मात्र त्यो सम्भव छ ।

चुलिँदो व्यापार घाटालाई देशले झेलिरहेको थियो । त्यसको असर अहिले पनि देशको आर्थिक क्षेत्रमा देखा परिरहेकै छ । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको भए पनि यसले गुणात्मक उपलब्धि भने दिन सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । जसलाई सरकारले बुझेर त्यही अनुसारको योजना अघि सार्न सक्नु पर्दछ । व्यापारघाटा र आर्थिकमन्दीले देशको अर्थतन्त्र नै चौपट हुनबाट रोक्न सरकारले पहल कदमी लिनु पर्दछ । वैदेशिक व्यापारको सिलासिलामा विश्वका करिब १ सय १५ भन्दा बढी मुलुकसित नेपालले वस्तु आयात तथा निर्यात गर्दै आएको छ । यस प्रकारको आँकडा भए पनि झण्डै ६८ देशमा मात्र नेपाली वस्तु निर्यात हुँदै आएका छन् ।

बजारलाई नजिकबाट नियाल्ने हो भने यसको अवस्था दिन प्रतिदिन गिर्दो छ । बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पीडित छन् । नयाँ प्रविधि नयाँ तौल तरिकाको अभावले जति लागतमा जति उत्पादन हुनुपर्ने हो त्योभन्दा कयौं गुना बढी लागत लाउनुपर्ने भएकोले उत्पादनमा लागत बढेको हुन्छ । मूल्यको तुलनाले पनि विदेशी उत्पादनसित नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न मुश्किल पर्छ । र निर्यातमा कमी आउँछ । विदेशी बजारको मागलाई पहिचान गरी सोहीबमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिँदैन । त्यसैगरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ । यसको निम्ति न राज्य पक्ष न नेपाली उद्यमी जाँगर देखाउनु पर्छ । उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुनुपर्छ । तब मात्र निर्यात हुने वस्तुहरूले उचित बजार र प्रतिस्पर्धात्मक हुन सक्छन् ।

नेपालले आफ्नो दिगो विकास र उन्नत आर्थिक समृद्धिका लागि आयातभन्दा निर्यात बढी बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । जसका लागि उद्योग कलकारखानामा लगानी बढाउनु पर्दछ । यहाँ निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैंचा तथा तयारी पोशाकको ठूलो माग रहेको छ । यसका अलावा छालाबाट बनेका सामग्री जस्तै जुत्ता, ब्याग, पञ्जालगायतका सामान र जुट, हस्तकलालगायतका सामग्री, चिया, घ्यू, अनि कागजले पनि उत्तिकै हिस्सा रहेको अर्थ क्षेत्रका जानकारहरूले भन्दै आएका छन् । यसर्थ यस्ता प्रकारका वस्तु उत्पादन र पैठारीमा नेपालले उत्पादकलाई सही सहुलियतमा ऋण उपलब्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्नेजस्ता काम गर्न सके भावि नेपालको वैदेशिक व्यापार उभो लाग्न सक्छ । 
अहिले नेपालबाट निर्यात हुने सामानको गुणस्तरका सम्बन्धमा बेलाबखत प्रश्न उठ्ने गरेको छ । विश्व बजारमा ठूलो प्रतिस्पर्धा छ । यो कसैबाट लुकेको विषय होइन । यस विषयमा व्यवसायी र उद्यमी सबै जानकार छन् । वास्तवमा वस्तुको गुणस्तर महत्वपूर्ण कुरा हो । हामीले उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पु¥याउन सक्नु पर्छ । बरु थोरै उत्पादन होस तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पु¥याइएन भने बजारमा खपत हुन गाह्रो हुन्छ । नेपालले उत्पादन गर्ने वस्तुहरूको प्रायः सबै कच्चा पदार्थ विदेशबाट आयात हुने गर्छ । तसर्थ आगामी दिनमा नेपालले पनि आफ्ना प्राकृतिक स्रोतको उत्खनन् लगायत उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उत्पादन गर्न सक्नुपर्छ । जसले वस्तुको उत्पादन लागत घटाउन मद्दत पु¥याउँछ । यद्यपि नेपालले यो क्षेत्रमा दीर्घकालीन उत्पादन योजना मुताविक काम गरेको पाइँदैन । तत्काललाईभन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनु पर्दछ । जुन वस्तुको उत्पादन हुन्छ लामो समयसम्म स्थायी हुने वातावरण निर्माण गर्नुपर्दछ । 
नेपालको वस्तु निर्यातमा वृद्धि गर्न गुणस्तरयुक्त सामान उत्पादन हुनु आवश्यक छ । यसका निम्ति दक्ष जनशक्ति, मेसिन तथा औजार र आवश्यक लगानी चाहिन्छ । आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नुपर्छ । यसका निम्ति सरकारले विकास खर्च बढाउनुपर्छ । विकास खर्चमा छुट्याएको रकम योजना अवधिभित्र विकासमा खर्च गरेको हुनुपर्छ । त्यस्ता विकास योजनाको खाका पनि तयार गर्नुपर्छ । विगतका सरकारहरू आयलाई विकासमा खर्चमा रूपान्तरण गर्न असफल देखिएका छन् । त्यसलाई चिर्तै बर्तमान सरकारले आयलाई विकास खर्चमा रुपान्तरण गर्न सक्नुपर्दछ ।

नेपालमा उत्पादन भएका ऊनी गलैंचाको ७५ प्रतिशत जर्मनीमा खपत हुन्छ भने सम्पूर्ण तयारी पोशाकको ८० प्रतिशत खपत अमेरिकाले मात्रै गरिरहेको वर्तमान परिवेशलाई बुझेर बाँकी देशमा पनि व्यापार बढाउन पहलकदमी गर्नु आजको समयको माग हो । केही वर्षअगाडि मित्रराष्ट्र भारततर्फ कृषिमा आधारित वस्तु निर्यात हुने गर्थे । तर वर्तमान परिस्थितिमा भारतबाट नेपालमा कृषि जन्य वस्तुहरूको आयात बढ्दै गएको छ । बंलादेश, श्रीलंका, इटली, बेलायत, फ्रान्स, बेल्जियम स्विटजरल्यान्डलगायतका मुलुकमा नेपाली सामान निर्यात हुने हुँदा त्यस्ता देशको बजारलाई मध्यनजर गर्दै वस्तुको उत्पादन गरिनुपर्दछ । तर आजभोलि निर्यातमा कमी आएको छ । यस अवस्थामा निर्यातमा कमी आउने कारण के के हुन् ? सो को पहिचान गरी सुधार गर्नेतर्फ ध्यानकेन्द्रित हुनुपर्छ । जसमा राज्य पक्षको ध्यान जानु जरुरी छ ।

नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुका पछि धेरै कारण छन् । देशले सही र दीर्घकालीन सोच भएका राजनेता पाउन नसक्नु पनि एउटा कारण हो । नेपाल एउटा भूपरिवेष्ठित मुलुक हुनु पनि अर्को कारण हो । हालसम्म भएका कमजोर पारवहन समस्याले निर्यातमा ठूलो समस्या खडा गरेको देखिन्छ । भएका सम्झौताको पनि उल्लेख्य उपभोग गर्न हामीले सकिरहेका छैनाैँ । सम्झौतामा कतै न कतै हामी तल पर्ने खालका सम्झौता भएका हुन्छन् त कतै भएका सम्झौताको फाइदा विकसित देशले उठाउने गरेको पाइन्छ । छिमेकी देशसितको अस्पष्ट व्यापार नीति र आवश्यक ऐन कानुनको अभावले नेपालको वैदेशिक व्यापार प्रतिकूलताको शिकार भएको पाइन्छ ।

कुनै पनि उद्योग सञ्चालनका लागि अनिवार्य आवश्यकताको रूपमा रहेको विद्युतीय व्यवस्थादेखि अन्य पूर्वाधारमा ध्यान दिनु पर्दछ । केही बर्ष पहिले विद्युतीय अभावमा उद्योगहरु बन्द हुने अवस्थामा थिए । तर, अहिले त्यो अवस्था छैन । विगत झै अहिले लोडसेडिङको अवस्था छैन । उद्योग तथा कलकारखानाको लागि यो खुशीको कुरा हो । उद्यमीहरुलाई विद्युत् सहजै आपूर्ति गर्न सरकारले चाँजो मिलाउनु पर्दछ  । अहिले सरकारले लोडसेडिङ अन्त्यको अवधारणा अघि सारेको छ । उद्योगीलाई उचित वातावरण लगानीको सुनिच्चिता हुन सको भने उद्योगी लगनी गर्न इच्छुक हुन्छन् । यस्ता खालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरुकता देखाउन सक्नु पर्दछ । राज्यस्तरबाट पहलकदमी नभएसम्म वैदेशिक व्यापारमा विस्तार तथा सुधार हुन सक्दैन । वैदेशिक व्यापारमा सुधार नआएसम्म नेपालको आर्थिक अवस्था माथि उठ्न सक्दैन ।