काठमाडौं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानो पोखराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र सानो डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, सोही उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र सोही उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.४८ प.९००५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २३ ग्राम ४ सय १० मिलिग्राम सहित सोही नगरपलिका–१ खड्क चोक बस्ने २५ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउने क्रममा साईकलमा बोकेर ल्याएको आलुको बोरा भित्र लुकाएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ९५० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका–४ झलारी बस्ने २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुर बस्ने १८ वर्षीय किशोर र कैलाली धनगढी उउपमहानगरपालिका–२ मिलनचोक घर भएका २२ वर्षीय सुदिप धामी रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले सु.प.प्र०१–००९ प.९९५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–११ वानडाडाबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ७ सय १६ ट्याबलेट, ट्रामोडोल २ हजार ७ सय ७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६ सय ७५ क्याप्सुल र नाइट्रोसन २७ ट्याबलेटका साथै नगद १ लाख ६ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय बिरु भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी लिने क्रममा उक्त लागूऔषध र नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।