काठमाडौँ – नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपादन तथा पेन्स कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपको रुपमा २०७९ कार्तिक तीन गतेदेखि २०८० कार्तिक चार गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ४४ करोड ८० लाख, विकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रहेको छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही असोज २६ गतेसम्ममा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।