काठमाडौँ – नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार असोज २५ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने ति ट्रेजरीहरुमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक दुई गते, २०७९ पुस २६ गते, २०७९ चैत्र १२ गते र २०८० असोज २३ गते तोकिएको र यि ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि यही असोज १३ गते पनि १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री भएको थियो ।