काठमाडौं – नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा लघुवित्त सम्वन्धी कारोबार गर्दे आएको सुपर लघुत्ति वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । २०७९ भदौ २२ गते अर्थात आजको मितीबाट कार्यान्वयनमा आउने गरी उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
दाङको तुलसीपुरमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको २०७८ साल असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको बिशेष निरीक्षणबाट उक्त संस्थामा सुपर लघुवित्तमा गंम्भिर कैफियत भेटिएका आधारमा उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैैंकका अनुसार संस्थाको सञ्चालक समितीका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्षरुपमा सम्मिलित भई संस्थाको हितविपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यममा संलग्न भएको देखिएको र प्राथमिक पुंजी कोष १० दशमलव ३१ प्रतिशतले ऋणात्मक भएको हुंदा उक्त संस्थालाई २०७८ चैत्र २ गते बैंक तथा वित्तीय संस्थाको सिघ्र सुधारात्मक कारवाही सम्वन्धी विनियमावली, २०७५ को विनिमय ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिएकोमा संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (ग), (च) र (ञ) को अवस्था बिद्यमान रहेकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो ।