बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

सोमबार, भाद्र ६ २०७९

काठमाडौँ – निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ।

सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन्।

उनले चुनावमा मतदातालाई अनेकौँ प्रलोभनमा पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार–प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए। उनले निर्वाचनमा उम्मेद्वार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए।

सञ्चारकर्मीहरुले निर्वाचनमा उम्मेद्वार लिएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धनलक्षित देखियो भन्ने प्रश्नको जवाफमा उनले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यवहारिक रुपमा ठीक नभएको बताए।

उनले जुन पार्टीको उम्मेद्वार निर्वाचनमा भाग लिन्छ, त्यही पार्टीको निर्वाचन चिह्न मात्रै राख्ने आयोगको धारणा भएको भन्दै कुनै दललाई लक्षित गरेर गर्न नखोजिएको स्पष्ट पारे।

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिए। उनले आयोजले राजनीतिक दलका सबै सुझावहरुलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए।

उनले भने, ‘आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचारसंहिता परिमार्जन, संशोधन गर्नको लागि राजनीतिक दलहरुसँग छलफल भएको छ। छलफलमा राजनीतिक दलहरुबाट मिश्रित सुझावहरु प्राप्त भएका छन्। सबै सुझावहरुलाई मनन् गरेर, विश्लेषण गरेर आयोगले राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ। निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरुको सुझावको स्वागत गर्दै सुझावलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने, प्रकाशित गर्ने प्रतिवद्धता जनाउनुभएको छ।’

पौडेलले थपे, ‘निर्वाचन आचारसंहिता बनाएर उल्लंघन गर्ने निर्वाचन आयोग होइन। राजनीतिक दल र उमेम्दवारहरुले नै हो। राजनीतिक दलहरुले आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन निर्वाचन आयुक्तले ध्यानाकर्षण गराउनु भयो। यो विषय दलहरुको फरक–फरक सुझाव आएको छ। राजनीतिक दलहरुबाट नै आउने गरेको छ– निर्वाचनमा खर्च धेरै भयो, उम्मेदवार भए पनि निर्वाचन लड्न समस्या भयो भन्ने भनाइलाई मनन् गरेर २५ जनासम्म भेला भएर प्रसार–प्रसार गर्नुपर्ने आयोगको घारणा हो।’

दुई जनाले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने

आयोगले प्रस्ताव गरेको आचार संहितामा एउटा दलबाट बढीमा दुई जना प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने उल्लेख छ। निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगले हेलिकोप्टर प्रयोगमा कडाड गर्दै आएको छ।

दलबाट कसले हेलिकोप्टर प्रयोग गर्ने हो उसको नाम आयोगमा बुझाउनुपर्ने र उसलाई अनुमति दिने प्रस्ताव गरिएको छ।

आयोगले दलका प्रतिनिधिहरुलाई सोमबार वितरण गरेको अचारसंहितामा भनिएको छ, ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने।’

आयोगले सार्वजनिक पदमा रहेका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि प्रचारमा जान रोक लगाउने तयारी गरेको छ।