काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।
वालुवाटरस्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।
२०७४ सालको निर्वाचन र गत ३० वैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
यसअघि सोमबार बसेको कार्यदलको बैठकलेसत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।
भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा मिल्न सकेकाे छैन ।