काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउँदै संसद् र सरकारलाई १५ बुँदे सुझाव तथा ध्यानाकर्षण गराएकी छन् । संविधान जारी भएपछिको पहिलो नागरिकता विधेयक भएकाले समग्रतालाई सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।
साथै छिमेकी मुलुकहरूले वैवाहिक अंगीकृत नागरिकताको हकमा लिएको नीतिको तुलनात्मक अध्ययन गरेर र हाम्रो सन्दर्भमा के उपयुक्त हुन्छ भन्ने यकिन गरी सार्वभौम संसद्ले जनतालाई विश्वासमा लिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुन नहुने र गैर नागरिकले नागरिकता पाउन नहुने भन्दै भूराजनीतिक बनोट र हाम्रो संवेदनशीलतालाई बुझेर विधेयक फेरि अघि बढाउन सुझाएकी छन् ।