बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका १४ वटा टिपरमा तोडफोड

मंगलबार, साउन २४ २०७९

काठमाडौं । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । ती गाडी बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका थिए ।

दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठले बताए ।

नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।