काठमाडौं । नेकपा (एमाले) बागमतीले अग्रजलाई सम्मान गर्ने भएको छ । बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सोमबार पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी व्यक्तिहरूको खोजी तथा पहिचान गरी उनीहरूको सम्मानका लागि जिल्लास्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताए ।
त्यसैगरी प्रदेश कमिटीका विभिन्न विभागमा सदस्यहरू मनोनीत गरी विभागलाई पूर्णता दिइएको छ ।
बाग्मती प्रदेश कमिटीले बुद्धिजीवीहरूसँग अन्तरक्रिया गरी उनीहरूका कुरा सुन्ने निर्णय गरेको छ । भदौ १० गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख बर्तौलाले विज्ञप्ति जारी गरी ‘बुद्धिजीवीहरूको आँखामा एमाले’ विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी सङ्कलन गरिने जनाइएको छ ।
बैठकले अकाशिँदो महंगी, भ्रष्टाचार, कमिशनतन्त्रको विरोधमा गठबन्धन सरकारलाई खवरदारी गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बाग्मती प्रदेश जनसंगठनहरूको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई व्यबस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय संयन्त्रको तत्काल बैठक कार्ययोजना बनाउने निर्णय गरेको छ ।