बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

माधव नेपालको क्षेत्र पुगेर ओलीले गरे विभिन्न दलका नेतालाई एमालेमा स्वागत

मंगलबार, साउन २४ २०७९

रौतहट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताएका छन् ।

सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताउनुभयो । 

उनले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए । 

उनीसँगै लोसपाका नेता तथा संविधानसभा सदस्य चन्दन साह पनि एमाले प्रवेश गरे । सोही कार्यक्रममा नेपाली कांग्रेस रौतहट जिल्ला कार्य समिति सचिव तथा प्रदेशसभा सदस्यका उम्मेदवार राजेश चौधरी, गढीमाई नगरपालिकाकी पूर्व उपमेयर सुभद्र गुप्ता लगायत कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।

नेकपा एसका अध्यक्ष माधव नेपालको क्षेत्रमा पुगेर ओलीले विभिन्न दलका प्रभावशाली नेतालाई एमालेमा प्रवेश गराएका हुन् ।