काठमाडौं । सत्ता गठबन्धनबाट डा. बाबुराम भट्टराई र उनले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी विस्तारै ओझेलमा परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको चुनावी तालमेल र कार्यदल गठनको बैठकमा बाबुरामको खोजीनिन्दा नभएको एक नेताले बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भइरहँदा यतिञ्जेल साथ दिँदै आएका बाबुराम भट्टराईलाई कुनै लेखाजोखा गरिएन । साथै निर्वाचनमा तालमेल गर्ने सहमतिसँगै सिट बाँडफाँटका लागि बनेको कार्यदलमा समेत नत बाबुराम भट्टराईलाई समावेश गरिएको छ न उनको पार्टीका कुनै सदस्यलाई । अझ २०६४ यता निरन्तर निर्वाचित हुँदै आएका पूर्वप्रधानमन्त्री भट्टराई गोरखा २ बाट यस पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव लड्ने चर्चा छ । जहाँ यस अघि माओवादीबाट नारायणकाजी श्रेष्ठ चुनाव लडेका थिए । उनी बाबुरामसँग पराजित बनेका थिए ।
यसैबीच बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते बस्दै छ ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकले आगामी निर्वाचन र सत्ता गठबन्धनका सम्बन्धमा कसरी अघि बढ्ने लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।