शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज साउन १५ अर्थात खिर खाने दिन

आइतबार, साउन १५ २०७९

काठमाडौं । आज साउन १५ । नेपालीले परम्पराअनुसार खिर खाने दिन । आजको दिन घरघरमा खिर र मिष्ठान्न परिकार खाएर साउन १५ मनाउने परम्परा छ ।

वर्षमा कहिले दहि–चिउरा, कहिले क्वाँटी, जौको सातु खाएजस्तै साउन १५ को दिनमा खिर खाएर मनाउने प्रचलन छ । साथै नेपाल कृषिप्रधान देश भएकोले पनि धानबाली रोपिसकेको समयको उपलक्ष्यमा खिर खाएर साउन १५ मनाउने गरिन्छ ।

साउन महिना वर्षात समय भएको कारण पनि दुधबाट बनेको पोषिलो परिकार खिर खाएर आज साउन १५ मनाउने गरिन्छ । 

यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन  महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । 

खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ। 

दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ।