काठमाडौँ – काठमाडौँ महानगरपालिकाले एक हप्तासम्म थुप्रिएको फोहर आज (बिहीबार) देखि उठाउने भएको छ । महानगरपालिकाले सूचना निकालेर बिहानैदेखि फोहर उठाउने भएकाले पायक पर्ने ठाउँमा फोहर सङ्कलन गरेर राख्न अनुरोध गरेको छ ।
बञ्चरेडाँडासम्म फोहर लैजाने सडक निर्माणको काम सकिएकाले आजदेखि फोहर उठाउन शुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहर नउठ्ने जानकारी गराएको थियो ।
एक हप्तासम्म फोहर नउठ्दा काठमाडौँमा दुर्गन्ध फैलिएको छ । लगातार पानी परिरहेकाले काठमाडौँका सडकमा लिचेट बग्न थालेको छ । फोहरका कारण प्रदूषणसँगै सङ्क्रामक रोग सङ्क्रमणको जोखिम पनि बढेको छ । फोहरको डङ्गुरका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या भइरहेको छ । थुप्रिएका फोहर आजैदेखि उठाउने भनिए पनि सबै फोहर आजै उठाउन नसकिने महानगरपालिकाले जनाएको छ ।