बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, कोइराला पक्षले सरकारको समिक्षा गर्ने 

सोमबार, असार २७ २०७९

काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ ।  

कोइराला पक्षले पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।  आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समीक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत  बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए ।

आजदेखि शुरुहुने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।  

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको हो ।

यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ ।

अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पार्टी कन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।