काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय समितिको बैठकमा असिनपसिन हुने अवस्था परिवारको पदको लोभका कारण परेको टिप्पणी हुन थालेको छ।
केन्द्रीय समितिमा परिवारका प्रायः सबै सदस्यसहित कान्छी छोरी गंगा र ज्वाँई जीवन आचार्यलाई समेत राखेपछि आकांक्षीको अबमुल्यन भएको टिप्पणी हुन थालेको छ।
माओवादी जनयुद्धमा विचारका रुपमा स्थापित भएको प्रचण्डपथबाट स्खलित भएर प्रचण्डपदको बाटोमा लागेको कतिपयले आरोप लगाएका छन्। ‘परिवारलाई मात्र पद दिने तर योगदान गरेकाको अवमुल्यन भइरहेको छ, यसरी पार्टी कसरी चल्छ?’, एक सहभागीले प्रश्न गरेका छन्।
प्रचण्डले केन्द्रीय समितिको बैठकबाट पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको नाम टुंगो लगाउने जिम्मा लिएका थिए। त्यो पनि पूरा गर्न नसकेको आरोप लागेको छ।
घोषित पोलिटव्युरो सदस्यहरु, स्थायी कमिटीका सदस्यको नाममा समेत विवाद आएको छ भने पदाधिकारीको नाम त दिन नै सकेका छैनन्, उनले। ‘महासचिव पदमा लडाँई छ, अन्य पदका पनि कुनै टुंगो लागेको छैन। अध्यक्षले पार्टीलाई सत्ताका लागि मात्र प्रयोग गरेको तर व्यवस्थापन गर्न नसकेको स्पष्ट देखिन्छ’, स्रोतले भन्यो।