काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।
प्रचण्ड निवास खुमलटारमा आज बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने अधिकार अध्यक्षलाई नै दिएको हो ।
पार्टी केन्द्रीय समिति बैठकमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन नेताहरूले निक्कै दबाब दिएका थिए । ‘प्रचण्ड कमरेड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यहरू बसेर छलफल भयो । नेताहरूले पदाधिकारीसहित सबै कमिटी फाइनल गर्ने विषयमा आ-आफ्नोतर्फबाट सुझाव दिनुभयो’ पूर्व स्थायी समिति सदस्य गणेश शाहले भने, ‘पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिएका छौँ । उहाँले सबै पदमा नाम प्रस्ताव गर्नु हुने छ ।’
माओवादी विधानमा अध्यक्षसहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरू उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । अरू पदमा समेट्न प्रचण्डलाई खासै समस्या नभए पनि महासचिव पदमा भने गाह्रो हुने भएको छ ।
महासचिव पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । शर्मा र पुन दुवैसँग परामर्श गरेर प्रचण्डले पदाधिकारीलाई पूणर्ता दिने नेता साहले बताए । आइतबारदेखि शुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन् ।